वाशिंग मेसिन किन्ने सोचमा हुनुहुन्छ , यो अवश्य पढ्नुस

दिन कै जसो कपडा धुनुपर्ने हुन्छ र कपडा धुनु पनि एक झन्झटिलो र समय धेरै लाग्ने काम हो । यहि नियमित तर दिक्कलाग्दो कार्यलाई सहज बनाउनको निम्ति मानिसहरु घरमा वाशिंग मेसिन राख्ने गर्छन । वाशिंग मेसिनको काम सामान्य छ – तपाईको कपडा धुने । वाशिंग मेसिनले सजिलैसंग कम मिहिनेत र समयमा तपाईको लुगाको राम्रो सफाइ गरिदिन्छ । आजभोलि अन्य उपकरणहरु जस्तै वाशिंग मेसिन पनि हरेक घरको आवश्यक उपकरण बनेको छ । वाशिंग मेसिन खरिद गर्दा तलका विभिन्न कुराहरु ख्याल गर्नु पर्ने हुन्छ:

वाशिंग मेसिनको किसिम

. टप लोड

टप लोड वाशिंग मेसिनमा कपडाहरुलाई वाशिंग मेसिनको माथि पट्टिबाट हालिन्छ । यो वाशिंग मेसिनको फाइदाहरु:

  • यो फ्रन्ट लोडभन्दा धेरै सस्तो हुन्छ
  • यसमा फ्रन्ट लोडभन्दा धेरै क्षमता हुन्छ
  • यो हेर्दामा सरल हुन्छ
  • सबै बटनहरु माथि पट्टि हुने भएकाले ,यो मेसिन बालबच्चाहरुबाट सुरक्षित हुन्छ
  • यसमा कपडा लोड गर्न सजिलो र चाडो हुन्छ

२.फ्रन्ट लोड

 

फ्रन्ट लोड वाशिंग मेसिनमा कपडाहरुलाई मेसिनको अगाडी पट्टिको ढोकाबाट हालिन्छ । यो वाशिंग मेसिनको फाइदाहरु:

  • यसले टप लोडले भन्दा पानी कम खपत गर्छ
  • यसमा अतिरिक्त उपकरणहरु पनि जोड्न मिल्छ – जस्तै ड्राएर जुन टप लोडमा सम्भव छैन
  • दुईवटा वासर भएको वाशिंग मेसिन फ्रन्ट लोड मात्र हुन्छन, टप लोडमा दुईवटा वासर हुदैन
  • यसले टप लोडलेभन्दा धेरै चाडो र सफा गरेर कपडा धुन्छ
  • बाफबाट कपडा सफा गर्न मिल्ने बिकल्प पनि यसमा हुन्छ
  • धुलाईको समयमा यिनीहरु शान्त हुन्छन

वाशिंग मेसिनको साइज :

वाशिंग मेसिन कुन साइजको वा कत्रो खरिद गर्ने भन्ने कुरा दुईवटा कुराले निर्धारण गर्छ – तपाईको परिवार संख्या र बजेट । ठूलो साइज र क्षमता भएको वाशिंग मेसिन महँगो हुन्छ । सानो परिवारको लागि ठूलो वाशिंग मेसिन जरुरि पनि छैन । त्यसैले यी दुई कुरालाई ध्यानमा राखेर वाशिंग मेसिन खरिद गर्नु पर्छ । वाशिंग मेसिनको साइज केजीमा मापन गरिन्छ , अर्थात् यसको ड्रमले कति केजीको कपडा एकपटकमा धुनसक्छ भनेर । अटोमेटिक र स्मार्ट फिचर भएका, ड्राएर जडान भएको र दुईवटा वासर भएको वाशिंग मेसिन महँगो हुन्छ ।

क्षमता परिवारको संख्या नेपाली बजार मुल्य (लगभग)
५ – ६ केजी

सानो परिवार

१-२ जना वयस्क

टप लोड: सुरुवात मुल्य २० हजार देखि

फ्रन्ट लोड: सुरुवात मुल्य नेरु ३० हजार देखि

७ – ८ केजी

मध्यम परिवार

२-३ जना वयस्क

टप लोड: सुरुवात मुल्य नेरु ४० हजार देखि

फ्रन्ट लोड: सुरुवात मुल्य नेरु ६० हजार देखि

९ – १० केजी

ठूलो परिवार

४+ जना वयस्क

टप लोड: सुरुवात मुल्य नेरु ७० हजार देखि

फ्रन्ट लोड: सुरुवात मुल्य नेरु १ लाख देखि

नोट : यो मुल्य राजधानीमा रहेका इलोक्ट्रोनिक्स पसलहरुमा गरिएको सानो सर्वेक्षणको अाधारमा राखिएको हो । वाशिंग मेसिनको मुल्य ब्रान्ड र त्यसको फिचरमा भर पर्दछ ।

उर्जा र पानी खपतमा कुशलता:

वाशिंग मेसिन चल्नलाई दुईवटा कुरा अनिवार्य छ – पानी र विद्युत । वाशिंग मेसिनले प्रयोगमा आउदा जति थोरै पानी र विद्युत खपत गर्छ, त्यति नै त्यो वाशिंग मेसिन राम्रो मानिन्छ । इनर्जी स्टार चिन्ह भएको वाशिंग मेसिनको विद्युत खपत इनर्जी स्टार नभएकाको तुलनामा निकै कम हुन्छ ।

फ्रन्ट लोड वाशिंग मेसिनले टप लोड वाशिंग मेसिनको तुलनामा निकै कम पानी प्रयोग गर्छ । यदि तपाई पानीको बचत गर्न चाहनुहुन्छ भने तपाईले फ्रन्ट लोड वाशिंग मेसिन खरिद गर्नु उचित हुन्छ । उच्च – कुशलता भएको टप लोड वाशिंग मेसिन पनि बजारमा उपलब्ध छन् । यो वाशिंग मेसिनले फ्रन्ट लोडले केहि बढी पानी खपत गरे पनि साधारण टप लोडले भन्दा निकै कम पानी खपत गर्छ ।