काठमाडौं उपत्यकाको आठ स्थानमा आकाशे पुल निर्माण हुँदै ! हेर्नुस कहाँ-कहाँ बन्ने छ !!

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ ।

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो ।

टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल काठमाडौँ जिल्ला अदालत, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइनेछ ।

नयाँ ती पुल बनाउन रु १२ करोड बजेट विनियोजन गरिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनीयर रामबहादुर थापाले बताए ।

विज्ञापन राख्न नमिल्ने गरी केही स्थानको आकाशे पुलको डिजाइन तयार भएको र अन्यको तयारी चरणमा छ । महानगरले यसअघि निर्माण गरेको आकाशे पुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो ।

डिजाइन तयार भएका पुल बनाउन बोलपत्र आह्वान यही साउनभित्रै गरी निर्माण शुरु गरिने प्रमुख इञ्जिनियर थापाले बताए । अब बन्ने पुल भने कामपाले आफ्नै खर्चमा बनाउन लागेको हो ।

कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन् । रत्नपार्कमा एउटा सव–वे छ ।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको इञ्जिनीयर थापाले बताए ।