एउटा चुम्बन गल्ली जहाँ, चुम्बन गर्नकै लागी जोडीहरु घण्टौँ लाईनमा पालो कुरिरहेका हुन्छन् …

मेक्सिकोमा एउटा यस्तो ठाउँ छ जहाँ सधै तरुनी तन्नेरी जोडीहरुको लाइन लागेको हुन्छ, अनि आफ्नो पालो व्यग्रताका साथ कुरिरहेका हुन्छन् । उनीहरुको त्यो व्यग्रता तथा लाइन केवल चुम्बन गर्नकै लागि हो ।आफ्नै पार्टनरसँग चुम्बन गर्नपनि किन लाइन लाग्नुपर्यो ? ठाउँका ठाउँ म्वाइँ खाइदिए भयो नी भन्नुहोला । तर त्यो ठाउँ यस्तो हो की जहाँ गएर चुम्बन गर्न पाइयो भने आउने १५ वर्षसम्म खुसी भइन्छ रे ।त्यसैले उक्त विशेष ठाउँमा गएर चुम्बन गर्नका लागि जोडीहरु लामो लाइनमा पालो पर्खिएर बस्छन् र आफ्नो पालो आएपछि धित मरुन्जेल म्वाइँ खान्छन् ।

उक्त चुम्बन स्पट किन मायालु जोडीहरुको तिर्थ बन्यो भन्ने कुरामा एक मायालु जोडीको कथा जोडिएको छ । उक्त मायालु जोडीमध्ये केटीचाहीँलाई उसकै बुवाले मारेको रहेछ ।फेब्रुअरीमा त्यहाँ जाने जोडीहरु सयौँ हुन्छन् । वास्तवमा उक्त ठाउँ एउटा साँघुरो गल्ली हो, जसको नाम एल क्यालेजन डेल बेसो हो । यसको नेपाली अर्थ हुन्छ, चुम्बनको गल्ली । मध्य मेक्सिकोको गुआनाजुआतोमा पर्छ यो । यो ठाउँमा रहेका घरहरुबीचको दुरी यति निकट छ की एउटा घरमा बसेर अर्को घरको मानिसलाई चुम्बन गर्न सकिन्छ ।

इतिहास अनुसार तिनै घरका बार्दलीमा बसेर एक युवक तथा एक युवती आपसमा प्रेम तथा आलिंगन र चुम्बनमा मग्न हुन्थे । युवती डोना कार्मेन धनी परिवारकी थिइन् भने युवक लुइस गरीब परिवारका ।डोनाका बुवाले डोनालाई ती गरीब लुइससँग प्रेम गर्ने अनुमति दिने कुरै भएन । त्यसपछि लुइसले डोनाकै कोठा तथा बार्दलीको ठ्याक्कै अगाडि पर्ने घरको एउटा कोठा भाडामा लिएर बस्न थाले ।

त्यसपछि डोना र लुइसले रात अबेरसम्म बार्दलीमा निस्किएर तथा गल्लीमा झरेर चुम्बन गर्नथाले । तर जब यो कुरा डोनाका बुवालाई थाहा भयो रिसले चूर हुँदै आफ्नै छोरीको हत्या गर्यो, धारिलो हतियारले छातिमै प्रहार गरेर । आफ्नी प्रेमिकालाई बाबुको आक्रमणबाट बचाउनका लागि बार्दलीबाट दौडिँदा लुइस तल झरे र उनको घाँटी नै भाँच्चियो ।जुन कोठामा डोना बस्थिन् त्यो कोठामा अहिले एउटा गिफ्ट पसल छ । बाल्कोनीमा गएर जोेडीहरु आफ्नो लेखाउँछन्, झ्यालमा ताला किनेर लगाइदिन्छन् अनि चुम्बन गर्दै आफुहरुको युगल सम्बन्धमा खुसीको कामना गर्छन् ।अनलाइनखबरबाट