‘लाइफमा पार्टनर त चाहिन्छ’ : स्वेता खड्का

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि उनकी श्रीमती अभिनेत्री स्वेता खड्काको अवस्था देख्दा धेरैलाई लागेको थियो, उनलाई सामान्य जीवनमा फर्किन अब गाह्रो होला । अचेल स्वेताको मुहारमा छाउने मुस्कानले देखाउँछ, उनको जीवनमा हराएको खुसी फेरि फर्किसक्यो । श्रीकृष्णको निधन भएको दुई वर्षपछि ‘कान्छी’ फिल्म बनाइन्, आफैँ अभिनय गरिन् । रेस्टुराँ, इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनी लगायत विभिन्न व्यवसायमा पनि हात हालेकै छिन् । सिन्धुपाल्चोकको इन्द्रावतीमा माझी बस्ती निर्माण अभियानमा पनि जुटेकै छिन् । अहिले बाँचिरहेको जीवन उनलाई ‘दोस्रो जीवन’ जस्तो लाग्छ रे ! उनको पहिलो र दोस्रो जीवन केन्द्रित भएर अनिल यादवले उनीसँग गरेको अन्तरंग कुराकानी ः

निकै हतारमा देखिनुहुन्छ नि ?
अँ, एकदमै बिजी छु । चारैतिर हात हालेको छु । फिल्मको विदेश प्रदर्शन, माझी बस्तीको पुनःनिर्माण, आफ्नो रेस्टुरेन्ट, कन्स्ट्रक्सन कम्पनी थुप्रैतिर आबद्ध छु । फेरि अहिले नयाँ आर्थिक वर्ष पनि लाग्दैछ । त्यसैले क्लोजिङको टाइम छ । अहिले पनि यो इन्टरभ्यू सकिनेबित्तिकै बैंक जानुपर्ने छ ।

चारैतिर हात हाल्दा काम गर्न गाह्रो हुन्न ?
खोई, त्यस्तो फिल भएको छैन । फेरि मलाई एउटा मात्रै काम गरेर पुग्दैन, धेरैखाले काम गर्नुपर्छ । म व्यस्त हुन नै रुचाउँछु ।

यसअघिका तीन फिल्म ‘कहाँ भेटिएला’, ‘श्रीमान्–श्रीमती’ र ‘कोहिनुर’ खेल्दा तपाईंसँग तपाईंंको प्रिय श्रीकृष्ण श्रेष्ठ सँगै हुनुहुन्थ्यो । उहाँको निधनपछि बनाउनुभएको ‘कान्छी’ खेल्दा सुटिङ सेटमा उहाँलाई कत्तिको मिस गर्नुभयो ?
धेरै मिस हुन्थ्यो नि ! ‘कान्छी’मा प्रोड्युसर पनि म आफैँ भएकाले दोहोरो प्रेसर थियो । सायद दादा (श्रीकृष्ण) भएको भए व्यवस्थापनको तनाव त्यति लिनु पर्दैनथ्यो होला । बढी त मैले डान्सको मुभमेन्टमा उहाँलाई सम्झिएँ । डान्स गर्दाखेरी उहाँले मलाई निकै हेल्प गर्नुहुन्थ्यो ।

श्रीकृष्णको मृत्युपछि सामान्य जीवनमा फर्कन तपाईंलाई धेरै समय लाग्यो है ?
दुई वर्ष बढी लाग्यो होला । दुई वर्षसम्म उहाँ र मेरो ट्र्याजिडी त छँदैथ्यो, बाहिर चल्ने अनेक हल्लाहरुले झन् पीडा दिन्थ्यो । त्यतिबेला उहाँको विछोड सँगसँगै अरु धेरै कुरासँग म फाइट गर्थें । मलाई धेरै समस्या पनि भयो त्यतिबेला । हेल्थले पनि साथ दिएन । ब्याकबोनको प्रोब्लम भयो । ग्यास्ट्रिकको समस्या भयो । डिप्रेसनमा पनि गएँ । औषधीको कुरा गर्दा १२–१३ वटा ट्याब्लेट एकपल्टमा खानुपथ्र्यो । र, त्यो सँगसँगै मेडिसिनमा विश्वास लागेन । मलाई पनि ठीक हुँदैन, मलाई पनि क्यान्सर हुन्छ भनेर घरमा जिद्दी गरेँ । त्यसपछि अस्ट्रेलिया गएँ, ट्रिटमेन्टका लागि । एक महिना त्यहाँ रहँदा पनि सुधार नभएपछि फेरि युएस गएँ । फेमिलीको सल्लाहअनुसार म टाढा जाँदा मलाई ठीक होला भनेपछि म त्यता (युएस) गएकी थिएँ । युएसमा श्रीकृष्णलाई माया गर्ने उहाँका फ्यानले मुभीको प्रिमियर सो राख्नुहुन्थ्यो । त्यहाँ गएर दर्शकसँग भेट्दा, माया पाउँदा आफूलाई सम्हालिएको महसुस हुन्थ्यो ।

यस्तो दर्दनाक पीडाबाट सामान्य जीवनमा फर्कन पक्कै गाह्रो थियो । कसरी सम्भव बनाउनुभयो ?
लाइफ हो, पीडा त जसलाई पर्छ उसले मात्रै फिल गर्न सक्छ । त्यस्तो बेला धेरैले ‘तिमीमात्रै होइन’ भनेर सम्झाउन खोज्छन् तर त्यो अवस्थामा आफूलाई ‘ममात्रै हो’ भन्ने लाग्दो रहेछ । त्यो घटना मैले मेरो जीवनमा सोच्नै नसकेको दुर्घटना थियो । जुन बेला हामी रमाउन चाहन्थ्यौँ, दुनियाँसामु खुसी साट्न चाहन्थ्यौँ, त्यो समय हामीले हस्पिटलमा गुजार्नुप¥यो । एक महिनाको हस्पिटलको टाइम, उहाँलाई ट्रिटमेन्ट गर्दा, केयरिङ गर्दाको टाइम सायद कसैले भोग्न सक्दैन होला । त्यो मोमेन्टमा बिरामी भएर अझ ट्र्याजिडी हुँदा त कस्तो भयो होला ? बिर्सन त म जुनसुकै देश गए पनि बिर्सन सक्दिनँ थिएँ । जिन्दगीभर नै नबिर्सिने पल बनिसकेको थियो । तैपनि लाइफ हो, मुभ अन हुनैपर्छ ।

दर्शकले अचेल तपाईंलाई हाँसिरहेको, मुस्कुराइरहेको, रमाइरहेको र खुसी भइरहेको अवस्थामा देखिरहेका छन् । यो मुस्कानले कतै नयाँ संकेत दिन खोजिरहेको त होइन ?
अहिले तपाईंले पुरानो कुरा निकाल्दा मलाई एकदमै गाह्रो भएर आइसक्यो तर मैले रुनलाई पनि कन्ट्रोल गर्छु । मेरो घाउ धेरै देखाएर दर्शकलाई पनि इरिटेट भइसक्यो भन्ने लागेर । हाँसेको कुरा गर्नुभयो, म त यसलाई फेरि सेकेन्ड लाइफ पाएको फिल गर्छु । फेरि पनि भन्छु, यो नयाँ सकेत होइन, बरु मेरो सेकेन्ड लाइफ हो । त्यो बेलाको स्वेता त्यतिबेलै मरिसक्यो, बाँचेको स्वेता अर्को स्वेता हो भन्ने लाग्छ । त्यही भएर मैले उहाँले गरिरहेको कामलाई निरन्तरता दिइरहेकी छु । मुभी उहाँले जस्तै बनाउँछु भनेर लागेकी छु । जसरी उहाँले फिल्ममा काम गरेर दर्शकको मन जित्नुहुन्थ्यो, मैले पनि त्यही प्रयत्न गरिरहेको छु । त्यसैले ‘कान्छी’ बनाए ।

दुई वर्षअघिसम्म तपाईंको फेसबुक निस्क्रियजस्तै थियो । अहिले त फोटो र स्ट्याटस पनि दिनहुँजसो अपडेट हुन्छन् । तपाईंको जीवनमा हराएको खुसी फर्किएको छनक हो ?
हो, अहिले निकै एक्टिभ छु (हाँस्दै) । हामी जति रमाउँछौ त्यो सबै वर्तमानमा मात्रै रहेछ । एकछिनपछि के हुन्छ, कसैलाई थाहा छैन । धेरैजनालाई हामीले गुमाएका छौं जुन कुरा हामीले सपनामा पनि सोचेको हुँदैनौँ । र, त्यो कुरा हामी सबैले स्वीकार गर्नुपर्छ । जुनसुकै मान्छेको लाइफमा अप्स एन्ड डाउन हुन्छ । सुःख पनि आउँछ, दुःख पनि । हामी सुःखमा खुसी हुन्छौँ तर दुःख भयो भने सम्हालिन गाह्रो हुन्छ । त्यसैले अहिले मलाई लाग्छ, आफूले बाँचिरहेको वर्तमानलाई जतिसक्दो बेस्ट बनाउनुपर्छ । भोलि के हुन्छ, के थाहा ?

श्रीकृष्णको निधनका बेला प्रकाशित एउटा पुस्तकमा तपाईंले जिन्दगी भर बिहे नगर्ने भनेर लेख्नुभएको थियो । अहिले फेरि त्यो मैले लेखेको होइन भन्नुभएछ । खास कुरा के हो ?
हो, मैले त्यो बुक निकालेको होइन । त्यो बेला म आफ्नो लाइफको बारेमा सोच्न त सक्दिनँ थिएँ, कसरी लेख्ने ? म आफै बेहोस् अवस्थामा थिएँ, मेरो रुममा कोही इन्ट्रीसमेत गर्न पाउँदैन थियो त्यो बेला । घरभित्र क्रोनिक भएर बसेकी थिएँ । त्यो बुकमा लेखिएको एउटा पनि शब्द मेरो होइन । फेमिलीले बुक निकाल्ने कुरा पनि त्यही कार्यक्रममा पुगेर थाहा भयो । म कार्यक्रममा पनि जान चाहन्न थिएँ । फेमिलीको दबाबमा पुगेकी थिएँ ।

तपाईंले अघि नै भन्नुभयो, ‘यो मेरो सेकेन्ड लाइफ हो ।’ त्यसो भए त दोस्रो जीवनसाथी पनि पक्कै चाहिन्छ होला ?
कति मान्छेको बिहे नै हुँदैन, कतिको मान्छेको धेरै बिहे हुन्छ । कत्ति मान्छेको मजस्तै ट्र्याजिडी हुन्छ । यो सब माथिबाटै लेखेर आउने रहेछ । कहिलेकाँही कहाँकहाँ कुनाको मान्छेसँग भेट हुन्छ र अचानक नजिक भएर जीवन अघि बढिरहेको हुन्छ । यो सब लेखेकै हुनुपर्दो रहेछ । म योसँग गर्छु, योसँग हिँड्छु भनेर नहुँदोरहेछ ।

त्यसो भए भन्दिनुस् न त, अहिले बाँचिरहेको सेकेन्ड लाइफमा कसैसँग प्रेममा पर्नुभएको छ कि छैन ?
(हाँस्दै) छ नि, मलाई कति धेरै दर्शकले प्रेम गर्नु हुन्छ तर तपाईंले भनेजस्तो प्रेममा म परेको छैन, हिजो पनि परेको थिइनँ । हिजो दादा (श्रीकृष्ण) सँग पनि प्रोफेसनल लाइफले नजिक गराएको थियो र फेमिलीसँग मागेरै बिहे भएको थियो । अहिले मेरो धेरै साथीहरु छन् । उनीहरुसँग म रमाउँछु, मेरो लाइफलाई ह्याप्पी बनाउने कोसिस गर्छु तर अहिलेसम्म मेरो लाइफमा त्यस्तो स्पेसल कोही पनि आएको छैन ।

यो लामो जिन्दगी एक्लै कटाउन गाह्रो होला ! अर्को जीवनसाथी त चाहिन्छ भन्ने महसुस भएको छैन ?
कहिले पनि हुँदैन । म आत्मनिर्भर केटी नै हो, परनिर्भर होइन । एसएसलसी दिएदेखि मेरो लाइफलाई यहाँसम्म ल्याउनका लागि म कोहीसँग निर्भर भएको छैन ।

आत्मनिर्भर हुनेले बिहे नै नगर्ने भन्ने पनि त नहोला !
होइन, पार्टनर त लाइफमा चाहिन्छ । मैले बरु फिल गरेको छैन तर मेरा शुभचिन्तक र नजिकका मान्छेले मलाई ‘बिहे गर्नुपर्छ, अरुको जस्तै लाइफ सेटल हुनुपर्छ’ भनेर दबाब दिइरहनु हुन्छु । मैले त्यतातिर भन्दा पनि आफ्नो करिअरलाई फोकस्ड गरिरहेको छु ।

केही समयअघि तपाई र तपाईंकी आमाले सँगै बसेर दिएको भिडियो वार्तामा ‘अब छोरीको बिहे कहिले गर्ने ?’ भनेर धेरैले सोध्ने गरेको कुरा आमाले खुलाउनुभएको थियो । त्यति धेरै मान्छेको चिन्ताको सम्बोधन कहिले होला त ?
थाहा छैन । म मेरो वर्तमानमा बाँचिरहेकी छु । मेरो हुन्छ कि हुँदैन, कतिवटा हुन्छ (हाँस्दै), त्यो केही पनि थाहा छैन । भोलि भयो भने तपाईंहरुले थाहा पाउनुहुन्छ, भएन भने पनि थाहा पाउनुहुन्छ । अहिले त वर्तमानमा बाँचिरहेको छु, भविष्यबारे के थाहा ?

भनेपछि अहिले तपाईं कसैसँग अफेयरमा हुनुहुन्न ?
छैन । यही सिंगल लाइफमा खुसी छु (हाँस्दै) ।

प्रेम प्रस्ताव राख्नेहरु त होलान् नि ?
प्रस्ताव त आइहाल्छ नि ! पहिले सेलिब्रिटी नहुँदै त आउथ्यो, झन् सेलिब्रिटी भएपछि त जसलाई पनि आउँछ । नर्मल फ्यानले कमेन्ट्समै आई लभ यु लेख्नुहुन्छ ।

तपाईंलाई साँच्चिकै लाइफ पाटर्नर बनाउन खोज्ने फ्यान कत्तिको भेट्नुभएको छ ?
त्यस्तो त भेटेको छैन । त्यस्तो पनि भेटिन्छ र (हाँस्दै) ? भेट्या भए भनिहाल्थेँ ।

थोरै फिल्मको कुरा गरौं, ‘कान्छी’ नै तपाईंको कमब्याक फिल्म हुनुको कारण के हो ? कथाको के कुराले छोयो ?
मैले मात्रै होइन समाजको धेरैजनाले त्यो लाइफ भोगिरहेका छन्, जसको लाइफमा ट्र्याजिडी कतिखेर सम्हाल्न नसक्ने गरी आउँछ भन्ने थाहा हुँदैन । मैले पनि त्यो भोगिसकेँ । याम थापा (पटकथाकार)ले खोई किन मकहाँ यही नै कथा लिएर आउनुभयो, थाहा छैन । रियल लाइफमा मात्रै होइन, रिल लाइफमा पनि मलाई ट्र्याजिडी हुनु नै लेखेको रहेछ । त्यसैले स्क्रिप्ट पनि त्यस्तै आयो ।

फिल्मले समीक्षकबाट राम्रो समीक्षा पाएन । तपाईंको अभिनय फितलो भएको टिप्पणी आयो । समीक्षकले अभिनयमा भन्दा फिल्म निर्माणमा लाग्दा राम्रो हुने सुझाव पनि दिए । यसलाई तपाईले कसरी लिनुभयो ?

मैले दर्शकको लागि फिल्म बनाएको थिएँ, कुनै समीक्षकको लागि थिइनँ । दर्शकको हन्ड्रेट पर्सेन्ट माया पाएँ, यसमै खुसी छु ।

भनेपछि तपाईं आफैले आफ्नो फिल्म हेर्दा केही त्रुटि भेट्नु भएन ?
म कलाकारमात्रै बन्नलाई यो इन्डस्ट्रीमा आएको भए धेरै भन्दा धेरै फिल्म खेल्थेँ होला । जस्तो पनि भर्सटायल रोलमा काम गर्थें होला तर मैले दुई वर्षमा एउटा मात्र फिल्म खेलिरहेकी छु । म छुट्टै टाइपको कलाकार हो । एक्ट्रेसको क्याटोगोरीमै राख्नुपर्छ भन्ने पनि छैन । मलाई कलाकार मात्रै भन्दिए पुग्छ । अर्को कुरा म रहरले यो इन्डस्ट्रीमा छिरेकी पनि थिइनँ, लक र उहाँ (श्रीकृष्ण)को रिक्वेस्टले छिरेकी थिएँ । मैले सधैँ आफ्नो बेस्ट दिन खोजेकै छु । समीक्षकले आलोचना गर्दा पनि मलाई खुसी नै लाग्छ किनभने म आफैँ पनि आफूलाई कहिल्यै बेस्ट ठान्दिनँ । अझ एउटा आर्टिस्टलाई प्रोड्युसर र कलाकार दुवै भएर एउटै फिल्ममा काम गर्न गाह्रो पनि हुने रहेछ । दर्शकलाई यसो भनेर उम्किने छुट त हामीसँग हुन्न तर जे होस्, दर्शकले माया गर्दिनुभएको छ, समीक्षकहरुले समीक्षा गरेर केही फरक पर्दैन ।

फिल्मको अफरहरु कत्तिको आउँछ तपाईंलाई ?
अहिले पनि धेरैजनालाई सरी भनिरहेको छु ।

अहिलेसम्म कतिवटा फिल्म रिजेक्ट गर्नुभयो ?
हिट÷हिट र राम्रो ब्यानरका फिल्ममात्रै गन्दा पनि २५ भन्दा बढी पुग्ला । नर्मल ब्यानरको त कुरै छैन ।

आफ्नो मात्रै खेल्ने भनेर नगरेको हो ?
मैले भनिहालँे नि, म छुट्टै खालको कलाकार हो । म थोरै फिल्म खेलेर दर्शकको धेरै माया पाएको कलाकार हो । त्यसैले धेरै फिल्म खेल्ने रहर छैन ।

फिल्म क्षेत्रको के कुराले तपाईंको चित्त दुख्छ ?
राम्रोराम्रो फिल्मले अवार्डमा सहभागिता नजनाउँदा, जुरीहरुले पाउनुपर्नेलाई अवार्ड नदिँदा चित्त दुख्छ । अवार्डहरु फेयर नहुँदा मन दुख्छ ।

तपाईंका जीवनमा निकै उत्तरचढावहरु देखिए । मान्छेले जीवनमा आइपर्ने खराब परिस्थितिको सामना कसरी गर्नुपर्ने रहेछ ? सुझाव दिनुस् न ।
अरुलाई हेरेर चित्त बुझाउन खोज्नुपर्ने रहेछ । आफ्नो मान्छेको सुझावहरु सुन्नुपर्ने रहेछ । आफ्नो लाइफको महङ्खवलाई चिन्नुपर्ने रहेछ, खेर फाल्न दिनु हुँदैन रहेछ ।