जापानमा किन बाढी पहिरोका कारण यति धेरैको मृत्यु भयो ?

जापानको पश्चिमी क्षेत्रमा परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण मंगलबारसम्म एक सय पचास भन्दा बढीको मृत्यु भएको छ भने ६० भन्दा बढी वेपत्ता भएका छन् । हराएकाहरुको खोजी तथा उद्धार कार्यमा हजारौं प्रहरी, अग्निनियन्त्रक र सेना परिचालन गरिएको छ । केही दिनयताको वर्षाले बाढी र पहिलो निम्त्याएपछि जोखिम स्थानबाट २० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको सरकारी अधिकारीहरुले बताएका छन् । यस्तो भिषण वर्षा आजसम्म नदेखेको जापान मौसम विभागका अधिकारीहरुले बताएका छन् । सो क्षेत्रमा विहिवारयता भएको वर्षा जुलाइ महिनामा हुने औसत वर्षा भन्दा तीन गुणा बढी वर्षा भइसकेको बताइएको छ ।

जापान प्राकृतिक विपत्तिका लागि जोखिमपूर्ण राष्ट्र हो र यहाँ विपत्तिको सामना गर्न हरदम तयार नै रहनुपर्छ । तर प्राकृतिक विपत्तिहरुसंज जुध्न जापान र यहाँका जनताहरुले गरेका तयारीहरु पनि कम छैनन । धेरै तयारीका बाबजुद पनि भारी वर्षाका कारण यति धेरै मानिसको मृत्यु किन भयो होला त ? यहाँ केही कारणहरु प्रस्तुत गरिएको छ ।

पूर्वी एशियामा आँधीको मौसम
पूर्वी तथा दक्षिण पूर्वी एशियाली क्षेत्रमा आँधीको मौसम शुरु भएसँगै भारी वर्षाको पनि शुरुआत भएको हो । जापानमा वार्षिक जुलाइदेखि नोभेम्बर महीनासम्म ६ ओटाभन्दा बढी आँधी आउनु कुनै नौलो कुरा होइन । जापानमा हरेक कुराको लागि तयारी भएपनि वर्षा किर्तीमान धेरै परेका कारण पनि यसको सामना गर्न अलि कठिन भएको हो ।

जटिल भौगोलिक अवस्था
जापानको ७० प्रतिशत भूभाग हिमाल र पहाडले मिलेर बनेको छ । त्यसैकारण यहाँ अधिकांश घरहरु चिप्लो र भिरालो ठाउँमा बनेका हुन्छन् । यस्ता स्थानहरु पहिरोको उच्च जोखिममा हुन्छन् र विपत्ति आउँदा यस्ता घर र त्यहाँ बस्ने व्यक्तिहरु बढी प्रभावित हुन्छन् । यस्ता ठाउँमा घर बनाउन सरकारले प्रतिबन्ध लगाउने पनि तयारी गरिरहेको छ ।

घरको वास्तुकला
जापानका अधिकांश घरहरु विशेषगरी पारम्परिक र पुराना घरहरु काठले बनेका हुन्छन् । यस्ता घरहरुले भूकम्पको हलचल केही थेग्न सक्ने भएपनि बाढी र पहिरोको दबाब भने सहन सक्दैनन् ।

निकासीसम्बन्धी निर्देशन
भारी वर्षाको समयमा जापानी अधिकारीहरुले झण्डै ५० लाख मानिसहरुलाई निकासी निर्देशन जारी गरेका थिए । तर यो निर्देशन त्यति बाध्यात्मक निर्देशन नभएका कारण धेरैले त्यसलाई वेवास्ता गरे । निर्देशनको व्यवास्ता गरेकै कारण पनि धेरैको मृत्यु भएको हुनसक्छ ।

मौसम परिवर्तन ?
भारी वर्षा भएको क्षेत्रमा यसअघि त्यस्तो वर्षा कहिल्र्यै नभएको त्यहाँका बासिन्दाहरुले दाबी गरेका छन् । यसअघि यस्तो नदेखेका कारण पहिला विपत्ति झेलेको अनुभवले पनि यस समयमा काम नगर्दा मानिसहरु थप प्रभावित बनेका हुन् ।

( जापानटुडेका लागि Kyoko Hasegawa ले लेखेको लेखको अनुवादित अंश )