सबै पीपललाई किन मान्न सकिन्न बोधिवृक्ष ? सबैले जानिराखे राम्रो !!

सबै पीपललाई किन मान्न सकिन्न बोधिवृक्ष ? सबैले जानिराखे राम्रो !!

बौद्ध भिक्षुहरूमा समेत सबै पीपल बोधिवृक्ष हुन् भन्ने भ्रम रहनु विडम्बना हो । गौतम बुद्धले जुन पीपलको रूखमुनि बसी ध्यान गरेर बुद्धत्व प्राप्त गरेका थिए, (इ.पू. ५२८) त्यस रूखलाई बोधिवृक्ष भनिन्छ । अहिले भने पीपलको रूख भन्नु नै बोधिवृक्ष हो भन्ने बुझाइ स्थापित हुन खोजेको देखिन्छ । हिन्दूहरू पीपललाई विष्णुसँग सम्बन्धित मानेर तदनुसार व्यवहार गर्छन् । त्यसको सिको गर्दै वा समकक्षमा राख्न यस्तो भ्रम फैलाउन खोजिएको हो भने यसलाई बौद्ध जगतको अज्ञानता भन्नुपर्छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मुख्य क्षेत्रमा अवस्थित पुष्करिणी (शिशुलाई जन्म दिनुअघि मायादेवीले स्नान गरेको पोखरी) को दक्षिण–पश्चिमको पीपलको ठूलो रूखलाई विशेष महत्व दिएको पाइन्छ । त्यसको फेदमा अबीर र पैसा चढाउनेहरूको संख्या पनि बढ्दो छ । पीपलको रूखमुनि बुद्धत्व प्राप्त गरेको भन्ने जानकारीकै आधारमा यस रूखलाई बोधिवृक्ष मानी यस प्रकारले श्रद्धा गरेको बुझन सकिन्छ ।

यही बुझाइको नतीजा हुनसक्छ, आजकल त्यस रूख वरिपरि बसेर ध्यान गर्ने, ध्यान गरेको जस्तो गरी बुद्धका विभिन्न मुद्राहरूको अभिनय गर्दै फोटो खिच्नेहरूको भीड देख्न पाइन्छ । यसरी रमाउनेमध्ये अधिकांश नेपाली युवक–युवती हुन्छन् । धेरैजसो विदेशी तीर्थयात्रीहरू भने त्यस्तो दृश्य हेरेर अचम्म मान्दै हिंड्ने गरेको देखिन्छ । यसले एउटा कुरामा दुई समाजको बुझाइको फरक देखाउँछ ।

बुद्ध जन्मेको स्थान देखाउन कुनै बेला संकेतका रूपमा ढुङ्गा राखिएको थियो । बुद्धसँग सम्बन्धित स्थलहरूको तीर्थ गर्ने क्रममा इ.पू. २४९ मा लुम्बिनी आइपुगेका मौर्य सम्राट अशोकले बुद्ध जन्मेको ठाउँ र त्यो संकेत गर्ने ढुङ्गाको समेत सुरक्षाहेतु पर्खाल बनाए, स्तम्भसहित । कालान्तरमा यहाँ विभिन्न संरचना बन्ने क्रममा मायादेवी मन्दिरकै निर्माण भयो । जर्मन पुरातत्वविद् डा. फुहररले अशोक स्तम्भमा उत्कीर्ण अभिलेखको आधारमा सन् १८९६ मा लुम्बिनी पहिचान र प्रचार गरे । स्तम्भको पूर्वपट्टिको ढिस्कोमा रहेको बुद्धजन्मको आकृति अंकित भग्न मूर्तिलाई चिन्न नसकेर वनदेवीको रूपमा पुज्दै र पशुबलि चढाइँदै आएकोमा १८८९ मा वास्तविकता थाहा पाए पनि लामो समयसम्म त्यसको कुनै नाम थिएन । मायादेवी मन्दिर भनिएको त ५० वर्षअघि मात्रै हो ।
जनरल केशर शमशेरको नेतृत्वमा सन् १९३३ मा यस ढिस्कोको उत्खनन् हुँदासम्म त्यहाँ कुनै रूखबिरुवा नभएको त्यसबेलाको तस्वीरले बताउँछ । त्यसपछि उम्रिएको एउटा पीपल हुर्कंदै गएर अन्ततः त्यो रूखसहितको संरचना लुम्बिनीको छवि बन्न पुग्यो । १९९३–९६ मा त्यस ठाउँको उत्खनन् गर्ने क्रममा पीपल काटिंदा विरोध गर्दै अदालतमा मुद्दासमेत हालियो ।
मायादेवीले बुद्ध जन्माउँदा समातेको र संसारभरका बौद्ध धर्मावलम्बीले श्रद्धा गर्ने बोधिवृक्ष काटियो भन्ने भ्रम कति बलियो बनेको रहेछ भन्ने त्यसले देखायो । कतिसम्म भने, काटिएको पीपलको ’टिस्यू कल्चर’ गरेर त्यसबाट लुम्बिनीको ‘मार्केटिङ’ गर्ने अर्थहीन होहल्ला मच्चाउन पनि बाँकी राखिएन ।
वास्तवमा बुद्धको जन्म पीपलमुनि नभएर ललितविस्तर अनुसार प्लाक्ष र अन्य ग्रन्थअनुसार सालवृक्षमुनि भएको हो । उक्त वृक्ष इसाको चौथो शताब्दीमा चिनियाँ यात्री सेङ साइ आउँदासम्म जीवित नै थियो । सन् ४०३ मा लुम्बिनी आएका अर्का चिनियाँ यात्री फाहियानले भने रूखको चर्चा नगर्नुले त्यसको अस्तित्व नरहेको बुझाउँछ । बुद्धको जन्म पीपलको रूखमुनि नभई अन्य वृक्षमुनि भएको र सबै पीपलका रूख बोधिवृक्ष हुँदैनन् भन्ने सामान्य जानकारी नहुँदा यस सम्बन्धी बहस वा क्रियाकलापमा नेपालीको समय बर्बाद भइरहेको छ ।

बुद्धले ध्यान गरेर बोधि–लाभ गरेको रूखलाई बोधिवृक्ष भनिन्छ, तर उक्त जातका सबै रूखलाई बोधिवृक्ष भन्न मिल्दैन । अघिल्ला बुद्धहरूले अन्य जातका रूखमुनि बुद्धत्व प्राप्त गरेको विवरण पाइएबाट पनि सबै बुद्धले पीपलकै रूखमुनि ध्यान गरेको मान्नु परेन । भारतको बोधगयामा बोधिवृक्ष मास्ने प्रयास मौर्य कालमै दुईपटक भयो । त्यसपछि पनि पटक–पटक त्यस्तै प्रयास हुँदा बोधिवृक्ष विनाश नै भयो । भिक्षुणी संघमित्राले एउटा हाँगो श्रीलंका लगेर सारेको हुनाले बोधिवृक्षले निरन्तरता भने आजसम्म पाएकै छ । पछि बोधगयामा पनि श्रीलंकाबाटै हाँगो ल्याएर रोपिएको हो ।
भारत र श्रीलंकाबाट हाँगा लगेर विभिन्न देशहरूमा रोपिएका पीपललाई पनि बोधिवृक्ष नै भनिन्छ । लुम्बिनीमा भने कुन पीपललाई बोधिवृक्ष भनिन्छ भन्ने हेक्का नहुँदा बरोबर लज्जित हुनुपर्ने स्थिति आउने गरेको छ ।