फसेका सबै १३ जनाको सकुशल उद्दार, उद्दार पछि देशभरी नै खुसियाली

काठमाडौं – दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् । थाई उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेको छ ।

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार बिहानबाट सुरु भएको थियो । स्थानीय समय अनुसार सोमबार बेलुका पाँच बजे उनीहरूलाई गुफाबाट बाहिर निकालिएको थियो । झण्डै छ घण्टा लामो प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको प्रत्यक्षदर्शीहरूले पनि बताएका छन् ।

बाहिर निकालिएका बालकहरूलाई हेलिकोप्टर मार्फत् सिधैं चियाङ रायमा रहेको अस्पताल लगिएको छ । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ तारिखका दिन उनीहरु गुफामा फसेका थिए । हराएको दिनदेखि खोजी सुरु भए पनि नवौँ दिनमा उनीहरूको अवस्था पत्ता लागेको थियो ।

फसेका १३ जनामध्ये अरु चारजनालाई पहिलो चरणमा आइतबार सकुशल उद्धार गरी बाहिर निकालिएको थियो । उद्धारको कार्य अति कठिन भएकाले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो ।

सोमबार पनि उद्धार कार्य स्थानीय समयअनुसार बिहान १० बजे सुरु भएकोमा बेलुका मात्रै उनीहरुलाई बाहिर निकालिएको थियो । उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा एम्बुलेन्स पनि पूर्ण तयारी अवस्थामा राखिएको छ ।

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको थियो । उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्यास बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको थियो । गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको छ । आइतबार यिनै चिम्नीबाट चारजनालाई निकालिएको हो ।