अण्डकोषले समस्या दिएको छ ? २ मिनेट समय निकालेर हेर्नुहोस्

अण्डकोष पुरुषको प्रजनन् गर्न्थी हो। यसले शुक्रकीट बनाउने हर्मोन उत्पादनको काम गर्छ। गर्वमा रहँदा सात महिनासम्ममा अण्डकोष बच्चाको शरीरभन्दा बाहीर हुन्छ। गर्वको सातौँ महिनापछि भने अण्डकोष आफ्नो स्थानमा आउने गर्छ। त्यसरी आउँदा यसले ‘पेरिटोनियम’ नामको एक किसिमको पत्र सँगै बोकेर आएको हुन्छ। यसलाई ‘प्रोसेस भेजाइनालिस’ भनिन्छ। बिस्तारै यो पत्र आफैँ बन्द भएर जान्छ। अण्डकोष संवेदनशील ग्रन्थी हो। अण्डकोषमा आउने समस्याको समयमै उपचार गरिएन भने यसले स्वास्थ्यमा दीर्घकालीन असर निम्त्याउँछ। पुरुषहरुले कुनै न कुनै समयमा अण्डकोष सुन्निएको महसुस गरेका हुन सक्छन्। अण्डकोष सुन्निनुका विभिन्न कारण हुन्छन्।
१. हाइड्रोसिल

अण्डकोष सुन्निने कारणमध्ये हाइड्रोसिललाई प्रमुख मानिन्छ। हाड्रोसिल प्रोसेस भेजाइनालिसमा पानी जमेपछि देखा पर्ने समस्या हो। यो समस्या सबै उमेर समूहका पुरुषमा देखा पर्न सक्छ। तर, बालकहरुलाई प्रोसेस भजाइनालिस बन्द हुन नसकेकाले हाइड्रोसिल हुने गर्छ। बच्चामा हुने हाइड्रोसिल एक प्रकारको हर्निया (अंग वा आन्द्रा बाहिर निस्किए जस्तै) हो।

२. अण्डकोषको संक्रमण

कुनै किसिमको संक्रमण भए पनि अण्डकोष सुन्निने गर्छ। अण्डकोषको संक्रमणलाई ‘अर्काइटिस’ भनिन्छ। यस्तो संक्रमणमा हुँदा इन्फेक्सन भाइरल, ब्याक्टेरियल वा क्षयरोग (टिबी) भएको हुन सक्छ। धेरैलाई यी र यस्तै संक्रमणका कारण अण्डकोष सुन्निने गरेको पाइन्छ। भाइरलमा सबैलाई हुने भनेको ‘हाँडे’ आउनु हो। हाँडे आउँदा अधिकांशलाई अण्डकोष सुन्निने समस्या देखिन सक्छ। ब्याक्टेरियलमा पिसाबको संक्रमण गराउने किटाणूहरुले पिसाबनलीबाट सरेर अण्डकोषको संक्रमण गराउँछन्।

अण्डकोष सुन्निनुको अर्को कारण क्षयरोग पनि हो। हामीले क्षयरोगको संक्रमण छातीमा मात्र हुन्छ भन्ने सोचेका हुन्छौँ। तर, क्षयरोग शरीरको जुनसुकै भागमा र अंगमा हुन सक्छ। अण्डकोष पनि क्षयरोग हुन सक्ने सम्भावित अंग हो। क्षयरोग भएमा पनि बिस्तारै अण्डकोष सुन्निदै र बढ्दै जान्छ।

३. हर्निया

हर्निया अण्डकोषसम्म पुग्दा अण्डकोष सुन्निने हुन्छ। यसलाई ‘इनगुइनल हर्निया’ भनिन्छ। पेटभित्रको आन्द्रा र अरु अंग सरेर अण्डकोषसम्म आएपछि अण्डकोष सुन्निने समस्या आउँछ। अधिकांश मानिसले हर्नियालाई बेवास्ता गर्छन् र पछि त्यही हर्नियाका कारण अण्डकोष सुन्निन थाल्छ। यस्तो समस्या हुँदा सुत्तदाखेरि वा चलाउँदाखेरि अण्डकोष दुख्ने गर्छ।

४. ट्युमर

अण्डकोषमा पलाउने ट्युमरका कारण पनि अण्डकोष सुन्निन्छ। अण्डकोषको ट्युमर सामान्यतया १० देखि ३० वर्ष उमेर समूहकालाई हुने गर्छ। अण्डकोषमा ट्युमर भइसकेपछि त्यो छिट्टै अरु ठाउँमा सर्ने सम्भावना हुन्छ। यो विशेषगरी पेटभित्रको ‘लिम्फ ग्ल्यान्ड’मा सर्ने सम्भावना हुन्छ। यसलाई अण्डकोषको क्यान्सर पनि भनिन्छ।

५. चोटपटक

अण्डकोषमा सामान्य चोटपटक लाग्दा पनि नशा फुटेर रगत जम्मा हुन सक्छ र अण्डकोष सुन्निन्छ। यसलाई ‘हेमाटोमा’ भनिन्छ।

६. टर्सन अफ टेस्टिस

‘टर्सन अफ टेस्टिस’ भन्नाले अण्डकोषको रक्तनशा बटारिने समस्या हो। यो समस्या विशेषगरी यौवन अवस्थामा देखा पर्छ। नशा बटारिएको बेलामा अण्डकोष दुख्ने र सुन्निने हुन सक्छ। टर्सन अफ टेस्टिस भएको चार घण्टाभित्र उपचार हुन सकेन भने अण्डकोषले काम नगर्न सक्छ। यसका लागि समयमै चिकित्सकको सल्लाह लिनुपर्छ।

७. भ्यारिकोसेल

भ्यारिकोसेल अण्डोषबाट पेटमा जाने रगतका नशाहरु फुट्दा हुने जटिल समस्या हो। यसमा दाँयाभन्दा बाँया अण्डकोषमा बढी असर पर्ने गर्छ। यसले शुक्रकीटको प्रजनन क्षमतामा असर पार्ने भएकाले यो समस्याको समयमै उपचार गर्नुपर्छ।

सम्वन्धित खबर

अण्डकोष सुन्निएको एउटा युवकको कथा
गत चैत १९ सम्म हाङ्गपाङ्ग – ९, ताप्लेजुङ्गका २७ बर्षीय रविन (नाम परिवर्तन) मानसिक रुपमा निकै कमजोर थिए । यति सम्मकी साथीसंगीहरुसंग डुल्न सक्दैनथे । प्रतिस्पर्धामा जुध्न सक्दैनथे । बोल्न सक्दैनथे, मनका कुरा खोल्न सक्दैनथे ।

कारण थियो उनको यौनांङ्गमा देखिएको समस्या । शरीरमा अलिकति ‘प्रेसर’ पर्नासाथ उनको दाँया तिरको अण्डकोष सुन्नि हाल्थ्यो । यद्धपी त्यो दुख्ने भने थिएन ।

डा. उत्तम पच्या
उनि कहिलेकाँही खुलेर हाँस्दा, हान्च्छयौं गर्दा, गह्रौ भारी उचाल्दा अण्डकोष साधारण अवस्थाको अण्डकोष फुर्लुक्क सुन्नी हाल्थ्यो । तर आराम गर्दा भने सुन्निएको भाग हराउथ्यो । त्यसबेला अव यत्तिकै सन्चो होस भनेर उनले धेरै पटक भगवान पुकारे रे । तर उनको समस्या भगवान पुकारेर हुने खालकै थिएन । त्यसैले जति पुकारा गरेपनि समस्या दोहोरिरहन्थ्यो ।

सानै देखि उनको समस्या बुझेका दौँतरीले कहिलेकाँही जिस्काउथे । कमजोर भनेर हेप्थे पनि । कहिलेकाँही उनीहरुले तँ त गोरुको अण्डकोष लिएर हिडेको छस् समेत भनेर जिस्काए तर त्यसो भन्दा पनि उनी सहेर बस्नुको विकल्प थिएन । सधै सोच्थे यस्तो अवस्था नभई दिएको भए आफु पनि अरु साथी जस्तै हिड्ने डुल्ने रमाइलो गर्ने गह्रौ काम पनि गर्ने थिएँ भनेर । तर त्यो उनको मनको कल्पना मात्रै थियो त्यसबेलासम्म ।

समय वित्दै गयो, उनी जवानीमा प्रवेश गरे । घर परिवारमा विहे गर्ने कुरा चल्न थाल्यो । उनीमाथि प्रस्ताव आयो । परिवारले हुन्छ भने पछि उनले नाई भन्न सकेनन् । विहे गरे । श्रीमती भित्रयाए । पहिलो रात अर्थात हनिमुनको समय । श्रीमतीसंगै छन उनी । श्रीमती के के सोच्दीहुन् तर उनी भने आफ्नो यौनांगमा देखिएको समस्यामै केन्द्रीत रहे । तर भाग्यवस त्यस रात उनको अण्डकोष सुन्निएन ।

त्यसपछिका दिनहरु भने विस्तारै सहज बन्दै गए । श्रीमतीले उनको समस्या थाह पाइहालिन तर उनले पनि उपाय बताउन सकिनन् ।
श्रीमतीसंगको डर पर भएपछि उनलाई एउटै चिन्ताले सतायो । कि अव सन्तान जन्मन्छ कि जन्मदैन भनेर । तर निश्चित समय पछि सन्तान जन्मियो । एउटा मात्रै होइन उनी चार सन्तानका बाबु बने ।

यद्धपी घरकाले उनलाई कमजोर छ काम गर्न सक्दैन भन्थे । उनलाई पनि कता कता आफु कमजोर भएको महसुस हुन्थ्यो । सधै कमजोर भएर कसरी बस्न सकिन्छ ? चार चार ओटा बच्चा बच्ची भैसके । यिनीहरुलाई कसरी पाल्ने ? मनमा अठोट लिए अब सबल बन्नु पर्छ भनेर ।
फलस्वरूप ताप्लेजुङ्ग जिल्ला अस्पताल आए उपचारको खोजीमा ।

हामीले उनको समस्या जाँच्यौ । अप्रेसन गरेपछि निको हुन्छ भन्यौँ । तर उनी औषधिद्धारा नै निको हुन चाहन्थे । जुनकुरा सम्भव थिएन त्यहाँ । अन्त्यमा उनी अप्रेसनका लागि राजी भए । अपरेसन गर्नु अघि आवश्यक रगत जाँच गर्यौं र भोलि पल्ट भर्ना भई अपरेसन गर्ने सल्लाह दियौं ।

आखिर उनलाई भएको के थियो त ? के साच्चै उनको अण्डकोष सुन्निएको थियो त ?

उनलाई दाँया तिरको काछमा हर्निया ( काछको भित्ता कमजोर भएर पेट भित्रको अंग वा त्यसको भाग भित्तालाई धकेल्दै बाहिर आउनु र कहिले काही अण्डकोष सम्म आइपुग्ने अवस्था) भएको थियो र तीन बर्ष देखि बिस्तारै बढेको र भित्र नजाने हुन्थ्यो ।

यसलाई मेडिकल भाषामा ‘इरिड्युसिबल इनगुइनल’ हर्निया भनिन्छ । पेटबाट भित्ता धकेल्दै बाहिर आउने अंग चै प्राय आन्द्रा हुने गर्दछ र कहिले काँही अमेन्टम (आन्द्रामा टाँसिएको झिल्ली जसले अंगहरुलाई चोट लागेमा वा संक्रमण भएमा बचाउने काम गर्दछ) पनि हुन सक्छ । यो सुन्निएको अण्डकोष होइन ।

बर्कले स्टेवार्ट र टिमको रिसर्च अनुसार नेपालमा हर्नियाको अनुमानित संख्या ३,१०,००० जति देखिन्छ जुन १५ जिल्लामा हरेक जिल्लाको ३ गाबिस छनौट गरेर निकालिएको अनुमान हो ।

ति मध्ये ३१ प्रतिशतले ले सर्जिकल सेवा नपाएर, २१ प्रतिशतले अपरेसन गर्ने पैसा नभएर उपचार नगरेको पाइयो । उनको टिमले सर्जिकल छानबिन गर्नु जरुरी रहेको र तत् सम्बन्धी सर्जरी गर्न अत्याबश्यक स्वास्थ्य सेवाको अवयवको रुपमा रहेको सुझाव दिएका छन् ।

यस्तो उपचार कसरी गरियो ?

यस्तो उपचार गर्दा वा यस्तो केशको अप्रेसन गर्दा ढाडमा लठ्ठ्याउने सुई लगाएर नाइटो भन्दा मुनिको भाग लठ्ठाइनछ वा जहाँ बाट अपरेसन गर्ने हो त्यहि ठाँउमा लठ्ठ्याउने सुई लगाएर पनि गर्न सकिन्छ ।

हाम्रो टिमले चाही अघिल्लो बिधि अपनायो । काछमा घाउ लगाई अपरेसन गरिन्छ र भित्री अंगलाई आफ्नो ठाँउमा पठाइन्छ । त्यतिवेला आवश्यक परे कृतिम जाली पनि लगाइन्छ । सो बिरामीको आन्द्रा नभई अमेन्टम थियो जुन अण्डकोष घेर्ने भित्तामा टाँसिएर बसेको थियो । टाँसिएको अवस्थामा अझ अप्रेसन अझ जटिल हुन्छ ।

हामीले अप्रेसन गरयौँ । टाँसिएको भागलाई छुटाएर अमेन्टमलाई पेट भित्र पठायौँ र पेटको भित्तालाई बलियो बनाउन जाली पनि राख्यौँ ।
अप्रेशन गरेको तेस्रो दिनमा उनी मुस्कुराउदै घर तिर लागे तीन दिन पछि भेट्ने बाचा गर्दै ।

खासमा बुझ्नुपर्ने कुरा के ?

हाम्रो समाजमा हर्नियाको समस्याका बारेमा अहिले पनि डाक्टरसंग छलफल गर्न अलिक लाज मानेको देखिन्छ । तर यो समस्या साधारण समस्या हो । अप्रेशन गरेर निको पार्न सकिन्छ ।

त्यसैले हर्निया छ भने ढुक्क संग नजिकैको स्वास्थ्य संस्थामा परामर्श लिनुहोस् र मन परेको र बिश्वास लागेको अस्पतालमा उपचार गर्नुहोस् । रोग लुकाएर लुक्दैन जति लुकायो उति गार्हो हुने सम्भावना बढ्दै जान्छ ।

* डा. पच्या जिल्ला अस्पताल ताप्लेजुङ्गमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।