बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो, आज पूर्वी र मध्य तराईमा ठूलो वर्षा हुने

काठमाडौँ, १९ असार । बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १४ पुगेको छ । सर्लाहीमा बाढीले बगाएर थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो ।

हरिवन नगरपालिकाको लखनदेही खोलाको बाढीले बगाउँदा ४० वर्षीय धनबहादुर लोप्चन र टेकबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । लखनदेही खोलामा आएको बाढीले बगाउँदा बरहथवा नगरपालिका १६ का ६५ वर्षका बलदेव महतो हराइरहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा परी प्रदेश ५ मा मात्र आठ जनाको मृत्य भएको छ । त्यसमध्ये बाँकेमा बालबालिकासहित चार, रोल्पामा तीन जना र दाङमा एक जनाको मृत्यु भएको छ ।

प्रदेश २ को पर्सा जिल्लामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । प्रदेश ७ को कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ । काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले भने सोमबार साँझ ११ जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको पुष्टि गरेको छ । तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ भने पहाडी क्षेत्रका थुप्रै ठाउँमा पहिरो गएका छन् ।

यस्तै आज देशको पूर्वी र मध्य तराईमा ठूलो वर्षा हुने अनुमान गरिएको छ । त्यस क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी छेउका वासिन्दालाई सजग रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बुधबारदेखि भने देशैभरको मौसममा सुधार आउने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।