सायद तपाईलाई पत्त्यार नलाग्ला !! यस्तो होटल जसमा बाँदरले गर्छ वेटरको काम (भिडियो हेर्नुस)

सायद तपाईलाई पत्त्यार नलाग्ला !! यस्तो होटल जसमा बाँदरले गर्छ वेटरको काम (भिडियो हेर्नुस)

यी हुन झोलामा औषधि बोकेर दुर्गम गाउँघर बाटोघाटोमा उपचार गर्दै हिड्ने ७० वर्षका विदेशी डाक्टर ?

काशीराम डाँगी
रोल्पा — थबाङमा भेटिने जापानी चिकित्सक ७० वर्षीय डा. रुकिची इसिदालाई सबैले ‘हाम्रा डाक्टर’ भन्छन् । गाउँले त्यही नामबाट सम्बोधन गर्छन् । उनी गाउँघर डुल्न थालेको १२ वर्ष भयो । थबाङमै बस्न थालेको ६ वर्ष पूरा भयो ।

सन् २००६ मा पहिलोपटक चिकित्सा कर्मका लागि आएका थिए । सुरुमा पाल्पास्थित मिसन अस्पतालमा स्वयंसेवी चिकित्सक बनेर काम गरे । हाडजोर्नी विशेषज्ञका रूपमा नाम कमाए । दिमागदेखि शरीरका विभिन्न भागको शल्यक्रिया गर्छन् । त्यसैले ‘डाक्टर विदआउट बोर्डर’का सदस्य थिए ।

‘इसिदालाई हामी औधी माया गर्छौं,’ उनलाई सघाउँदै आएका मनप्रसाद बुढाले भने, ‘उहाँले गरिबलाई औषधिमूलो गर्नुहुन्छ । त्यसैले हामी उहाँलाई माया गर्छौं ।’ यी फिरन्ते वृद्ध प्रत्येक वर्ष कम्तीमा ३ महिना थबाङमा बस्छन् र दैनिकजसो बिरामी जाँच्छन् । उनी नि:शुल्क परीक्षणका साथै औषधि वितरण गर्छन् ।

अहिले जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रमा कार्यरत उनले आफैंले कमाएर खर्च गर्दै आएका छन् । विकसित मुलुकबाट भीरपाखा पार गर्दै हरेक वर्ष टुप्लुक्क आइपुग्छन् । ‘उहाँ आउँदा गाउँ नै खुसी हुन्छ,’ पूर्वसांसद बर्मन बुढाले भने, ‘हाम्रा डाक्टरले धेरै सेवा पुर्‍याएका छन् ।’ राजनीतिक अगुवा बुढाले उनैसित स्वास्थ्य जाँच गराउँदै आएका छन् । विशेषज्ञ चिकित्सक गाउँमै पाउँदा सबै खुसी भएको उनले सुनाए ।

दुर्गममा आएर बिरामी जाँच्ने इसिदा चर्चामा आउन चाहँदैनन् । ‘मेरो काम जनतालाई सेवा गर्ने हो । मलाई जनताले माया दिएका छन् । त्यति भए पुग्छ,’ उनले भने । परम्परागत उपचार पद्धतिमा रुचि राख्ने उनले गाउँघर घुम्दै ‘ट्रेडिसनल बोन सेटर्स’ (टीबीएस) र ‘ट्रेडिसनल बर्थ एटेन्डेन्ट’ (टीबीए) सम्बन्धी अध्ययन गरे ।

यस क्रममा उनले नेपालमा पारम्परिक उपचार पद्धति निकै अघिदेखि सुरु भएको पत्ता लगाए । भौगोलिक विविधतायुक्त नेपालमा परम्परागत उपचार पद्धतिलाई यहाँको प्रकृति र जडीबुटीले साथ दिएको उनको निष्कर्ष छ । यस पद्धतिलाई सफल बनाउन ‘बटम टु टप’ प्रक्रियामार्फत स्वास्थ्य नीति निर्माण र सेवा प्रवाह गर्नु राम्रो हुने उनको सुझाव छ ।

यिनी समयको भने लोभ गर्छन् । कामप्रति प्रतिबद्ध उनलाई भेट्न चाहनेलाई समेत समयको स्मरण गराउँछन् । ‘उहाँ समयको हरेक पललाई महत्त्वसाथ चर्चा गर्नुहुन्छ । समय खेर फाल्ने बानी पटक्कै छैन,’ सहयोगी मनप्रसाद भन्छन्, ‘उहाँले समयको महत्त्वबारे बुझाएकाले हामी पनि चनाखो भएका छौं ।’ सशस्त्र द्वन्द्व चलिरहँदा पनि उनले गाउँमै रहेर काम गरे ।

जापानको क्योटो युनिभर्सिटीमा मेडिकल अध्ययन गरेका उनले साथीहरूको संगतका कारण नेपाल आएको स्मरण गरे । ‘नेपालमा झन् सशस्त्र द्वन्द्व भयो । त्यो अवधिमा मानवीय रूपमा बिरामी र घाइतेलाई सेवा पुर्‍याउनैपर्ने अवस्था थियो,’ उनले भने, ‘यस क्रममा मैले धेरैलाई सेवा पनि पुर्‍याएँ ।’

नेपालमा चलेको सशस्त्र द्वन्द्वबाट गरिब र अवसर कम भएका मानिसहरू नै पीडित भएको बताउँदै उनले तिनीहरूलाई राज्यले समेत प्राथमिकतासाथ सेवा पुर्‍याउनुपर्ने बताए । उनले जापानमा नाम चलेका क्योटो (मिनामी र युयडा सिमोटानाबे) अस्पतालमा विशेषज्ञ हाडजोर्नी चिकित्सकका रूपमा समेत काम गरेका थिए ।

मुलुकमा स्वास्थ्य सेवालाई सहर केन्द्रित गर्न नहुने तर्क गर्दै उनले जुम्लादेखि रुकुम, रोल्पा, बाग्लुङसम्म २००९ मा पहिलोपटक ‘प्राइमरी ट्रमा केयर रिसर्च क्याराभ्यान’ भन्ने अभियान नै चलाएका थिए । यस क्रममा उनले कम्तीमा १२ स्वास्थ्यसम्बन्धी अनुसन्धान शिविर सञ्चालन गरे । अभियानमार्फत ग्रामीण स्वास्थ्यको अवस्था, समस्या, ग्रामीण स्वास्थ्यप्रतिको सरकारी उदासीनताबारे अनुसन्धान गर्नु उक्त क्याराभानको मुख्य उद्देश्य थियो ।

नेपालमा बिरामीलाई उचित उपचार सेवा पुग्न नसक्नुमा सामाजिक, आर्थिक तथा लैंगिक असमानता रहेको उनको ठहर छ । सधैं ब्याकप्याकभित्र केही औषधिका साथमा स्टेथोस्कोप, बोक्न मिल्ने यूसीजी मेसिन, थर्मोमिटर बोकेर हिँड्ने डा. इसिदा बाटैमा भेटिने बिरामीलाई समेत जाँच्न भ्याउँछन् । उनले बिरामीलाई ‘सँगै जिउनका लागि’ र ‘जिउन सजिलोका लागि’ भन्ने आफ्ना मन्त्र सुनाउँछन् ।

अध्ययनको क्रमलाई अघि बढाउन उनले सन २०१२ देखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) सँगको समन्वयमा रोल्पा–रुकुमको स्वास्थ्य अवस्थाबारे प्राज्ञिक अनुसन्धान गरे । उनी सिनासअन्तर्गत मेडिसिन एन्थ्रोपोलोजी रिसर्चरका रूपमा कार्यरत हुँदै आएका छन् । उनको विषयचाहिँ ‘परम्परागत चिकित्सा पद्धति’ हो । यस क्रममा परम्परागत चिकित्सा पद्धतिसँग आधुनिक चिकित्सा विज्ञानलाई समायोजन गर्नुपर्ने उनको अध्ययनको निष्कर्ष छ ।

(सामग्री कान्तिपुरमा काँशीराम डाँगीले लेखेका हुन्)