चीनले गर्यो चमत्कार: बनायो विश्वकै सबैभन्दा ठूलो ‘उभयचर’ विमान, पहिलो उडान सफल (भिडियो)

काठमाडौं । चीनको एभियसन इन्डष्ट्री कर्पोरेसन अफ चाइना (एभिआइसी) ले आठ वर्ष लगाएर बनाएको विश्वकै सबैभन्दा ठूलो ‘उभयचर बिमान’ एजी ६०० ले आइतबार साउथ चाइना समुद्रको किनारामा रहेको एउटा विमानस्थलबाट आफ्नो पहिलो उडान भरेको छ ।

यो विमानले पारम्परिक विमानस्थलहरु प्रयोग गर्न सक्छ भने समुद्रबाटै पनि उडान र अवतरण गर्न सक्छ । जसको आकार बोइङ ७३७ को बराबर रहेको छ र समुद्री उद्दार तथा जंगली आगो नियन्त्रणमा प्रयोग गर्ने गरी डिजाइन गरिएको छ ।

सरकारी टेलिभिजन ले साउथ चाइना समुद्री तटमा अवस्थित दक्षिणी प्रान्त गुआङडोङमा रहेको झुहाई विमानस्थलबाट उड्दै गरेको एजि ६०० को प्रत्यक्ष दृश्यहरु देखाएको थियो ।

यो करिब एक घन्टापछि फर्कियो र आफ्नो स्ट्यान्डमा बस्यो, जहाँ युद्ध-संगीत बजिरहेको थियो र ठूलो भिडले चिनियाँ झण्डा फहराइरहेको थियो ।

सिन्ह्वा समाचार एजेन्सीले उक्त विमान ‘समुद्र, टापु र समुद्री चट्टानहरुको भावना रक्षक’ भएको उल्लेख गरेको छ ।

चारवटा टर्बोप्रप इन्जिनहरु रहेको एजी ६०० ले समुद्री अनुसन्धान तथा उद्दार मिसनका लागि ५० व्यक्तिहरुलाई बोक्न सक्छ भने अग्नि नियन्त्रणका लागि २० सेकेन्डभित्र १२ मेट्रिक्टन पानी फ्याक्न सक्छ ।

अहिलेसम्म यो विमानका लागि चिनियाँ सरकारी निकाय तथा कम्पनीहरुबाट १७ वटा माग आइसकेका छन् । यसको अधिकतम फ्लाइट रेन्ज ४ हजार ५ सय किलोमिटर रहेको छ भने अधिकतम ५३.५ टनसम्म वजन बोक्न सक्छ