सीमा क्षेत्रको नेपाली भूमीमा भारतीय सेनाको यस्तो दादागिरी !

बर्दिया । सीमावर्ती गाउँमा बस्ने राजापुर– ६ का गोपाल चन्द आइतबार भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ । सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ ।

उता, माछा मार्न हिँडेका बेला भदौ ५ मा जंगलमा बेपत्ता भएका इन्द्रबहादुर थारुको खोजी गरिदिन परिवारले निवेदन दिए । बेपत्ता भएको ९ दिनपछि बिहीबार भारतीय जंगलमा थारुको शव फेला पर्‍यो । क्षतविक्षत अवस्थामा फेला परेको शव पोस्टमार्टमका लागि भारतीय सुरक्षाकर्मीले बहराइच पुर्‍याएका थिए । त्यहाँ पुगेका उनका भाइ गणेश थारुलाई भारतीय पक्षले शव दिएको छैन ।

यस्तै, राजापुर नगरपालिका– ६ स्थित सीमावर्ती गाउँ करमोहनी र महुवाबाट ४५ वर्षीय वीरेन्द्रबहादुर शाह र ४३ वर्षीय बालकृष्ण चौधरी भदौ ५ देखि बेपत्ता छन् । शाह र थारुलाई भारतीय पक्षले बेपत्ता पारेको आशंका गरिएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।