१२ वर्षिय वर्षाको दुवै मृगौला ‘फेल’, भन्छिन्,‘पैसा छैन, बाँच्न चाहान्छु, मलाई बचाइदिनुस्’

१२ वर्षिय वर्षाको दुवै मृगौला ‘फेल’, भन्छिन्,‘पैसा छैन, बाँच्न चाहान्छु, मलाई बचाइदिनुस्’

काठमाडौँ । १२ वर्षिय वर्षा विकलाई हातमा कपी कलम बोकेर अन्य साथीहर जस्तै तन्दुरुस्त भएर स्कुल जाने रहर छ । तर, उनको रहर फक्रने शरीर भने विगत लामो समयदेखि महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ९०६ मा ‘बाँच्ने’ सपना देखिरहेको छ ।

गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ३ पानी टंकी घर भएकी वर्षाको दुवै मृगौला फेल भएपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको हो । गाउँमै ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका वर्षाको परिवारलाई उपचार गर्न आर्थिक अभाव छ ।

करिब २ महिना अघि बैदेशिक रोजगारीको शिलशिलामा दुबई पुगेका उनका बुवा चन्द्र बहादुर बिक बिदेश जाँदा लागेकोे ऋण समेत तिर्न नपाँदै घर फर्किर्नु पर्यो । उनी घर बनाउँदा लागेको ऋण र छोराछोरीको पढाई खर्च जुटाउनका लागि बिदेश गएका थिए । तर दुबई पुगेको केही दिनमै छोरीको दुवै मृगौला फेल भएको र डायलाइसिस गर्नुपर्ने खबर सुनेपछि उनी आत्तिए । वर्षाकी आमा सिता विकले रुँदै फोन गरेपछि चन्द्र बहादुर घर फिरेका थिए छोरी बचाउने अभिप्सा पालेर । तर छोरीको उपचारमा गाउँबाट खोजेर ल्याएको ऋण समेत सकिएपछि भने आर्थिक अवस्थाकै कारण बचाउन नसकिने हो की भन्ने चिन्ताले परिवारलाई सताएको छ ।

शिक्षण अस्पतालले वर्षाको दुवै मृगौला काम नलाग्ने गरी विग्रीएको ‘इन्ड स्टेज रेनल डिजेज’ अर्थात मृगौला विग्रेर अन्तिम स्थितिमा पुगेको र उक्त उपचारमा धेरै खर्चिलो हुने सिफारिस गरेको छ ।

गत साउन १६ गते भर्ना भएकी उनको मृगौला उपचारका लागि डायलायसिस वा प्रत्यारोपण गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका बाल रोग तथा मृगौला रोग विशेषज्ञ डा. दमनराज पौडेलले बताएका छन् ।

‘उहाँको रिपोर्टहरु अध्ययन गर्दा उहाँलाई लामो समयदेखि मृगौला रोगको उपचारका लागि डायलायसिस वा मृगौला प्रत्यारोपण गर्नुपर्ने देखिन्छ,’ त्रिवि शिक्षण अस्पतालद्वारा लिखित सिफारिसमा भनिएको छ,‘उक्त उपचार पद्दत्ति धेरै खर्चिलो हुने गर्दछ । कुनै संघ संस्थाबाट सहयोग भएमा उहाँको उपचारमा मद्दत पुग्ने देखिन्छ ।’

छोरी बचाउने सपना बोकेर नेपाल फिरेका चन्द्र बहादुरलाई उपचार खर्च जुटाउने पिरलो छ । ‘छोरीको रोग भन्दा पनि उपचारमा लाग्ने खर्च जुटाउन सकुँला जस्तो छैन । छोरीलाई बचाउन पाए हुन्थ्यो,’ चन्द्रले दियोपोस्टसँग भने,‘म आफै बेचिएर भएपनि छोरीलाई बचाउन चाहान्छु ।’

उनलाई बचाउनका लागि करिब १५ देखि १८ लाख रुपैयाँसम्म खर्च लाग्ने डाक्टरले बताउँदै आएका छन् । अस्पताल प्रशासनले भनेजति रकम जुटाउन चन्द्र बहादुर दम्पतीलाई मुस्किल छ । “सम्पतीको नाममा गाँउमा रहेको एउटा सानो घर र पाखो बारी मात्रै हो । बेचेरै उपचार खर्च जुटाउ भने पनि त्यसको कुनै मुल्य छैन” पीडा पोखे । १५ दिन यता दिनहुँ डायलासिस गर्नु परेको छ । डाइलासिस फ्री भनिए पनि अन्य औषधी आफैले किन्नु पर्ने भएकाले खर्च जुटाउन गाह्रो भएकोे उनले बताए ।

उपचारका लागि रकम जुटाउन नसकेको भन्दै चन्द्र बहादुरले छोरीलाइ उपचार नै नगरी घर फर्काउनुको बिकल्प नरहेको बाध्यता सुनाए । भन्छन्–“बिहान बेलुकीे हातमुख जोर्न समस्या हुने हामी जस्ता गरिबलाई ठुलो रोग नलागे नि हुने ।” आफ्नै आँखा अगाडी छोरी छट्पटाएको देख्दा चन्द्र बहादुर दम्पतीलाई असैह्य पीडा हुने गर्छ । तर, सहनुको बिकल्प छैन उनीहरुलाई ।

गाँउकै स्थानीय स्कुलमा कक्षा ५ मा पढ्दै गरेकी वर्षा पढाइमा अव्वल थिइन् । आफुलाई अस्पतालमा के कारणले राखेको हो भन्ने समेत उनलाई हेक्का थिएन । डाक्टर र अभिभावकको कुरा सुनेर आफ्नो रोगको बारेमा थाहा पाएकी उनलाई छिट्टै निको भएर घर फर्किने रहर छ । त्यो भन्दा बढी रहर त आफ्ना साना २ जना भाइहरुलाई हातमा समातेर स्कुल जाने र साथीहरु संग खेल्ने रहर छ ।

तर उनका सपनामाथि रोग पहाड बनेर उभिएको छ । जीवन मरणको दोसाँधमा उभिएकी वर्षालाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ । ‘पढेर असल मान्छे’ बन्ने उनको सपना अझै मरेको छैन । अस्पतालको बेडमा आफ्ना स्कुलका सहपाठीलार्ई निकै सम्झिन्छिन् उनी । स्कुल जाने र पढाई पुरा गर्ने रहर पनि उत्तिकै छ । अस्पतालको शैयामै किताव छेउमा राखेर खाफ्नो यस्तो अवस्थामा १२ वर्षकै कलिलो उमेरमा बर्षा बिक अस्पतालको बेडमा जीवन मरणको दोसाँधमा छिन । ‘म बाँच्न चाहान्छु । साथीहरुसँगै स्कुल जान चाहान्छु,’ वर्षाले भावुक हुँदै भनिन्,‘मलाई बचाइदिनुस् ।’

(नोट : वर्षालाई सहयोग गर्न चाहानेहरुले वर्षाकी आमा सिता विकको मोबाइल नम्बर ९८४७३७४९८१ मा सम्पर्क गर्नसक्नु हुनेछ ।)