चीन र भारतलाई चुनौति दिदैं किन दियो अमेरिकाले नेपाली सेनालाई ४ अर्बको विमान ?

काठमाडौंः अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काई ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा ‘फिक्स विङ’ स्काई ट्रक अनुदान सहायतास्वरूप उपलब्ध गर्न लागेको हो ।

यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ । अमेरिकाले दिन लागेको चारवटै स्काई ट्रकको अन्तर्राष्ट्रिय बजारमूल्य करिब ४ अर्ब रुपैयाँ रहेको सैनिक अधिकारीले जनाएका छन् । अमेरिकाबाट भित्रिन लागेका स्काई ट्रकको मूल्य प्रतिगोटा ६ देखि ८ मिलियन अमेरिकी डलर पर्छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते सत्ता हातमा लिएसँगै अमेरिकाले नेपाललाई उपलव्ध गराउँदै आएको सैन्य सहायता रोकेको थियो । २०५८ अघिसम्म अमेरिकाले नेपाललाई दिँदै आएको सैन्य सहायता पछिल्लो १५ वर्षमा रोकिए पनि पुनः सुचारु हुने भएको छ । २०६९ पछि प्रधानसेनापति बनेका गौरवशमशेर राणा र राजेन्द्र क्षेत्रीबाट भएका अमेरिकी भ्रमणपछि रोक्का सैन्य सहायता फुकुवामा ऐतिहासिक सफलता हासिल भएको उच्च अधिकारीले बताएका छन् ।

यसबाहेक सेनाले सन् २००६ पछिका नेपाल स्थित अमेरिकी राजदूतहरू न्यान्सी जे पावेल, स्कट एच डेलिसी, पिडर डब्लू बोडी र अलाइना बी टेप्लिजसँग पनि विगतदेखि रोक्का सैनिक सहायता फुकुवाका लागि आग्रह गरेको थियो । ‘पछिल्लो ५÷६ वर्षको अवधिमा नेपालका प्रधानसेनापतिहरूबाट भएका औपचारिक भ्रमण र विभिन्न समयका द्धिपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलपछि अमेरिकाल डेढ दशकअघिबाट रोक्का रहेको सैन्य सहायता फुकुवा गर्न तयार भएको हो,’ एक उपरथीले भने, ‘त्यसैको नतिजास्वरूप छिट्टै अमेरिकाले सेनाका लागि ४ वटा ‘फिक्स विङ’ स्काइ ट्रक दिन लागेको छ ।’ सेनासँग भएका २ दर्जन बढी जहाज तथा हेलिकप्टर रहेकोमा डेढ दर्जन मात्रै सञ्चालनमा छन् । सञ्चालनमै रहेको सेनाको स्काई ट्रक २०७५ जेट १६ गते बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएपछि सेना कार्गो जहाजविहीन छ । दुर्घटनामा महासेनानी कैलाश गुरुङको निधन भएको थियो ।

४० वर्ष लामो सैनिक सेवाबाट अवकास पाउँन लागेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पनि बुधबार अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै आफ्नै कार्यकालमा अमेरिकासँग ४ वटा कार्गो विमान अनुदानमा ल्याउने सम्झौता भइसकेको जानकारी दिएका थिए । ४ वटा कार्गो जहाज भित्रिएपछि सैनिक हवाई क्षमता विस्तामा ऐतिहासिक सफलता प्राप्त हुने सेनाले जनाएको आजको कारोबारले लेखेको छ ।

सेनाका ९ वटा हेलिकप्टर र कार्गो भित्रिँदै

अमेरिकाबाट अनुदानमा आउने बाहेक सेनाले रुसबाट २ वटा एमआई–१७ हेलिकप्टर खरिद प्रक्रिया यसअघि नै गरिसकेको छ । बाँकी ७ वटा सैनिक हवाई उपकरण पनि खरिद प्रक्रियामै रहेको सेनाले जनाएको छ ।

एमआई–१७ बाहेक २ वटा मझौला, २ वटा साना, एउटा कार्गो, २ वटा ट्रेनर जहाज पनि खरिद प्रक्रियामै रहेको छ । दुईवटा एमआई १७ हेलिकप्टर रसियाली कम्पनीसँग जीटूजीअनुसार खरिद प्रक्रिया सकिएको सेनाले स्पष्ट पारेको छ । त्यस्तै इटालियन कम्पनी अगुस्टासँग १४–१४ सिटका २ वटा, हेलिकप्टर खरिद प्रक्रियामै छन् ।

यी २ हेलिकप्टरको मूल्य ३ अर्ब रुपैयाँ भन्दा बढी पर्ने सेनाको दावी छ । फ्रान्सेली हेलिकप्टर उत्पादक कम्पनीसँग पनि फिक्स विङरकार्गो जहाज तथा अमेरिकी कम्पनीका बेल र इकुरेल हेलिकप्टर पनि खरिदकै क्रममा छन् । फिक्स विङ कार्गो विमान हो । बेल र इकुरेल क्रमशः ६ र ४ सिटे साना हेलिकप्टर हुन् । त्यस्तै सैनिक पाइलटका लागि तालिम सञ्चालन गर्न इन्डोनेसीयाली कम्पनीमार्फत २ वटा ट्रेनर (पाइलट र को–पाइलटमात्रै बस्न मिल्ने एयरक्राफ्ट) खरिदकै क्रममा छ ।