नेपाली सेनाका यस्ता मेजर, जसले पुरै तलव समाज सेवामा खर्चिन्छन

गुल्मी : गत तीनदिनदेखि एउटै ब्यक्तिको खर्चमा गुल्मीको सदरमुकाम तम्घासमा भव्य रुपमा ब्याडमिन्टन प्रतियोगिता भइरहेको छ ।

शनिवार समापन हुने उक्त प्रतियोगितमा छिमेकी जिल्ला र बुटवल , पोखरा र काठमाण्डौं सम्मका प्रतियोगिहरुको सहभागिता रहेको छ ।

त्यस प्रतियोगिताको पूरै खर्च ब्यहोर्ने ब्यक्ति हुन्, नेपाली सेना विरभद्रजंग गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी जनमत कार्की ।

कार्कीले जिल्लाभित्र होस् वा बाहिर प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई खेल सामग्री र प्रोत्साहन दिने गरेका छन् ।

यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर–४ सेउवा निम्न माध्यामिक विद्यालयमा अपाङ्ग मैत्री शौचालय पनि उनले ब्यक्तिग खर्च मै निर्माण गरी दिए । रुरु गाउँपालिका वडा नम्वर ४ को वम्घामा उनले त्यहाँका पुरै विद्यार्थीहरुलाई कपी कलम, खेल सामग्री बितरण गरे ।

जहाँ उनले एक दिने शिविर राखेर विद्यार्थी र उनका अभिभावकहरुलाई स्वास्थ्य सेवा उपलब्ध समेत गराई दिए ।

त्यहाँका सवै भन्दा विपन्न विद्यार्थी छानेर उनले अभिभावक बन्दै उच्च शिक्षा सम्म आफ्नै खर्चले पढाइदिने घोषणा गरेका छन् । को कहाँ असहाय छ ? को विपद्मा परेको छ ? उनले सञ्चारकर्मी र अन्य सरोकारवालालाई सोध्धै सहयोग गर्छन् ।

उनले यहाँ गुल्मपति सम्हाल्नुजेल आफ्नो पुरै तलव सामाजिक क्षेत्र मै खर्चिने उद्घोष गर्दै आएका छन् ।